यौन तथा लैंगिक हिंसा सम्बन्धी  तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

Deputy mayor of Budhanilkantha speaking in the opening session

 

बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नगरपालिकाले यो आर्थिक वर्षदेखि सांकेतिक भाषाका दोभाषे राख्न लागेको जानकारी दिनुभएको छ । CBM Global Nepal को साझेदारीमा नेपाल अपाङ्ग महिला संघले असारको १६ देखि १८ गतेसम्म आयोजना गरेको  ३ दिने क्षमता अभिबृद्धि तालिमको उदघाटन सत्रमा बोल्दै उहाँले नगरपालिकाको न्यायिक समिति अन्तर्गत रहने गरी दोभाषे राख्न लागेको बताउनुभएको हो ।  पालिकाले यो आर्थिक वर्षदेखि सवै वडामा अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउन लगाइएको जानकारी दिनुभयो ।

साथै यसअघि पालिकाका नीति कार्यक्रम र बजेट संस्थागत नभएपनि यसपालिदेखि बजेट तथा  नीति कार्यक्रम संस्थागतरुपमा ल्याएको दावी उहाँले गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा नीति र कार्यक्रममा नहुँदा अपाङ्गताका क्षेत्रमा काम भएपनि  परिणाम देखाउन नसकिएको उहाँको भनाइ थियो ।  अपाङ्गतालगायत अन्य सिमान्तकृत समुदायलाई दया देखाउने हैन की उनीहरु बराबरी हिस्सेदार बनाएर सामाजिक समावेशीकरणको मान्यतामा अघि बढ्न सवैलाई आग्रह गर्नुभयो ।

तालिम सत्रमा आफ्नो अनुभव राख्दै सहभागी

यसैगरी तालिमको समापन सत्रमा  बोल्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले अपाङ्गता भएका व्यक्तिका लागि सुरुदेखि काम गर्न चाहेको र सकेजति गरेको भन्दै अपाङ्गताको हरेक क्षेत्रमा काम गर्न र यसका लागि सहजीकरण गर्न आफु तयार रहेको बताउनुभयो ।

यौन तथा लैंगिक हिंसा प्रतिकार्य, सहयोगी सहितको निर्णय पद्दति तथा न्यून प्रतिनिधित्व भएका समुहको समावेशीता सम्बन्धी ३-दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिममा न्यून प्रतिनिधित्व अपाङ्गता समूहको पहिचान र अधिकार, अपाङ्गता समावेशीकरण, लैंगिक हिंसाको अवधारणा, प्रकार र  अपाङ्गताको अवधारणा र हिंसाविरुद्ध प्रतिकार्य, अपाङ्गता भएका महिला तथा बालिकाहरु र यौन तथा लैंगिक हिंसामा केन्द्रित UNCRPD का प्रावधानहरु, न्यायमा पहुँच, घटना व्यवस्थापन,  अपाङ्गता भएका महिलाको नेतृत्व विकास, न्यून प्रतिनिधित्व व्यक्तिहरु: सामाजिक न्याय र सामुदायिक सहायतालगायतका विषयमा विभिन्न विज्ञहरुले सत्र सञ्चालन गरेका थिए ।

तालिममा अन्तरक्रिया समूहकार्य, प्रस्तुती,लगायतका विधि अपनाइएको थियो । तालिममा सहभागीहरुले लैंगिक हिंसा र समावेशीकरण न्यून प्रतिनिधित्व भएका समुदाय र उनीहरुको स्वनिर्णयको अधिकारलगायतका बिषयमा जानकारी प्राप्त गरेका थिए । तालिममा नेपाल अपाङ्ग महिला संघको कार्यसमितिका सदस्य, कर्मचारीहरु र अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि गरी ३२ जना महिलाको सहभागिता थियो ।