संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरुसँग छलफल

Mps, other OPDs member and NDWAs members sitting in round table

नेपाल अपाङ्ग महिला संघले पुनरावलोकन गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को तीन महले संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरुसँग छलफल गरेको छ ।छलफलका क्रममा सांसदहरूले अपाङ्गता भएका महिलाका संवेदनशील र विशिष्ट विषयमा समितिमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । यो विधेयक सदनमा जानुअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने भएकाले यहाँ उल्लेख भएका मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयहरू उक्त विधेयकमा समावेश गर्न सकिने सांसदहरूले बताए ।

कार्यक्रममा बोल्दै समितिका सभापति अम्मर बहादुर थापाले अपाङ्गताको गम्भीरताको आधारमा सेवा प्रवाह गर्न सजिलो होस भनेर १० प्रकारमा अपाङ्गताको वर्गीकरण गरिएपनि राज्य इमान्दार नहुँदा उनीहरुले प्रभावकारी सेवा पाउन नसकिरहेको बताउनुभयो ।

सांसद दीपा शर्माले अपाङ्गता भएका महिलाको प्रजनन अधिकारका लागि यहाँ समावेश भएका अपाङ्गता भएका महिलाका संवेदनशील विषयलाई समितिमा छलफल गर्ने बताउनुभयो ।  डाक्टर तोसिमा कार्कीले अपाङ्गता भएका महिलाका विशिष्टिकृत समस्यालाई तीनमहलेमार्फत ल्याउनुभएकोले यसलाई छलफल गरी  विधयेकमा समेट्न सजिलो हुने बताउनुभयो । यो तीन महलेमा पनि सवै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका विषय छुट्न सक्ने भएकाले दश प्रकारकै अपाङ्गता भएका व्यक्ति र यस क्षेत्रमा काम गर्ने वकिलहरुलाई बोलाएर समितिमा छलफल गर्न चाहेको उहाँको भनाइ थियो ।

छलफलमा संघका अध्यक्ष टीका दाहालले महिलाको दृष्टिकोणबाट तयार पारिएको तीन महले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समितिका सभापतिसहित ६ जना सांसदको उपस्थिति थियो ।