प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल अपाङ्ग महिला स‌ंघले नेपालमा पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (लर्न) परियोजना अन्तर्गत गरेका गतिविधिको समीक्षा र अनुभव आदानप्रदान गर्न एक प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको  छ । अपाङ्गता भएका  र सिकाइमा संघर्ष गरिरहेका बालबालिकाको सिकाइ सिमितता पत्ता लगाइ उच्च र न्युन प्रविधिमार्फत समान सिकाइ हासिल गर्न सघाउने उद्देश्यले सञ्चालित लर्न परियोजनाले एकवर्षमा गरेका काम र उपलब्धीका बारेमा छलफल गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रतिमा गौतमले अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न आत्मबोध जरुरी रहेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका बालबालिकाकाले प्रारम्भिक तहदेखि नै शिक्षा अति नै आवश्यक रहेको भन्दै यसका लागि शिक्षा क्षेत्र तयार हुनुपर्ने बताउनुभयो । उहाँले कुनैपनि भौतिक स‌ंरचना अपाङ्गतामैत्री र पहुँचयुक्त नभएको भन्दै आफुले संसदमा अपाङ्ताका सवाल उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विश्व शिक्षाकी आवासीय प्रतिनिधि हेलेन शेर्पाले यो परियोजना अन्तर्गत सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तप्रतिको बुझाइ र एडटेक टुलकिटको प्रकाशन महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । उहाँले यस परियोजना अन्तर्गतका गतिविधिले अपाङ्गता  पहिचान हुन नसकेका बालबालिकालाई धेरै सहयोग पुग्ने अौंल्याउनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक डाक्टर बाबुराम ढुङ्गानाले समावेशी शिक्षाका लागि विस्तारै वातावरण अनुकुल हुनेगरि सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । शिक्षा तथा मानव विकास स्रोत केन्द्र अन्तर्गत समावेशी शिक्षा शाखाका निर्देशक डा दिव्या दवाडीले हरेक सिकाइ आवश्यकताको सम्बोधन गर्न सिकाइको समावेशी ढाँचा रामराज्य भएको बताउँदै यसका लागि हरेक विद्यार्थीको सिकाइ सामग्री उनीहरुको सिकाइ आवश्यकता अनुसार हुनुपर्ने बताउनुभयो ।

प्रविधिले यो परिकल्पनालाई सम्बोधन गरेपनि नेपालको भौगोलिक र अन्य वातावरणका कारण तुरुन्तै समावेशी सिकाइमा जान समस्या हुने भएकाले  पहिला यसका लागि तयार हुन त्यहि अनुसारको वातावरण बनाउँदै जानुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल अपाङ्ग महिला स‌ंघका अध्यक्ष टीका दाहालले समावेशी शिक्षालाई कार्यान्वयन गर्न अब विशेष विद्यालयको अवधारणालाई हटाउँदै एकिकृत रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । स‌ंघका उपाध्यक्ष मिना पौडेलले लर्न परियोजनाले गरेका गतिविधि चुनौती र सिकाइहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्राविधिक साझेदारहरु अटिज्म केयर नेपाल सोसाइटी, अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (ADRAD) र नेपाल बहिरा महास‌ंघले आफ्ना संस्थामार्फत गरेका गतिविधि प्रस्तुत गरेका थिए भने तालिम र उच्च र न्युन प्रविधि उपलब्ध भएपछि सिकाइमा आएको सहजता र परिणामका बारेमा अरुणोदय मा वि, ल्याबरोटरी मा वि, काभ्रे बहिरा विद्यालय र सुस्त मनस्थिति पारिवारीक सरसल्लाह केन्द्रका शिक्षक र प्रधानाध्यापकहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।  उच्च प्रविधिका सिकाइ सामग्रीसहितको एडट्क टुलकिट कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा शिक्षा तथा मानव विकास स्रोत केन्द्र, अपाङ्गता अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि, विश्व शिक्षा, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षक, नगरपालिका अन्तर्गत शिक्षा शाखाका प्रमुखहरु गरी ९० जनाको सहभागिता थियो

नेपाल अपाङ्ग महिला संघले विश्व शिक्षासँगको साझेदारीमा  बागमती प्रदेशका १० वटा स्रोत कक्षा, ११ वटा विशेष विद्यालय र २८ वटा मूलधारका विद्यालयका ५८१ जना अपाङ्गता  भएका बालबालिका तथा ६,२९५ जना प्रारम्भिक कक्षाका वालवालिकालाई सिकाइको विश्वव्यापी ढाँचाको अवधारणासहित प्रविधिमैत्री सिकाइका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरेको छ ।