कोभिड-१९ को प्रभाव बारेको द्रुत अध्ययनको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक

zoom photo from program

नेपाल अपाङ्ग महिला सङ्घले आज पौष २९ गते, एक कार्यक्रमको आयोजना गरी संस्था मार्फत हालै गरिएको अपाङ्गता भएका महिला तथा बालबालिकाहरूमा कोभिड-१९ को प्रभाव बारेको द्रुत अध्ययनको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गर्‍यो ।

राष्ट्रिय महिला आयोगका सचिव श्री शान्ता भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थाका अध्यक्ष श्री टिका दाहालले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा द्रुत अध्ययनबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने श्री सागर प्रसाईँले प्रस्तुतीकरण गर्नुभएको थियो ।

अध्ययनबाट प्राप्त तथ्याङ्कहरूका बारेमा सुनिसकेपछि, कार्यक्रमका अध्यक्ष सचिव श्री शान्ता भट्टराईले यस प्रतिवेदनले राष्ट्रिय महिला आयोगलाई समेत अपाङ्गता भएका महिला लक्षित कार्यक्रम विकास गर्न सहयोग पुर्‍याउने बताउँदै, आगामी दिनमा आयोगले अपाङ्गताका क्षेत्रमा थप सक्रिय भएर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यसै उपस्थित अन्य सहभागीहरूले समेत नेपाल अपाङ्ग महिला सङ्घले गरेको यस अध्ययनको प्रशंसा गर्दै, यस्ता तथ्याङ्कमा आधारित अध्ययनहरूले अपाङ्गता अधिकार को अभियानलाई थप बलियो र प्रभावकारी बनाउने विचार व्यक्त गर्नुभयो ।

अनलाइनमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा देशभरबाट ६० जना अपाङ्गता अधिकारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

द्रुत अध्ययनको प्रतिवेदन वेबसाईटको स्रोत सामाग्री पृष्ठबाट डाउनलोड गर्न सकिन्छ ।