अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा नेपाल अपाङ्ग महासंघले पुनर्ताजगी तालिम आयोजना गरेको छ । संघले आफ्ना सदस्यहरू र अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघ संस्थाका प्रतिनिधिलाई वैशाखको २४ र २५ गते यो तालिमको आयोजना गरेको हो ।
तालिममा कञ्चनपुर, बाँके, रौतहट, महोत्तरी, सिराह, धादिङ, काठमाडौं, काभ्रेलगायत जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी २५ जना भन्दा बढीको सहभागिता थियो ।
नेपाल सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धिहरु र अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको पैरवी वकालत र शसक्तिकरणमा क्षमता बढाउन यो पुनर्ताजगी तालिमको आयोजना गरेको हो ।
तालिममा अपाङ्गता अधिकार ऐन २०७४, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी), महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड), नेपालले हस्ताक्षर गरेका अन्य महासन्धी, दिगो विकास लक्ष्यकामा भएका व्यवस्था र प्रावधानका बारेमा सहभागीहरुले समूह कार्य गरी प्रस्तुत गरेका थिए ।