नेपाल अपाङ्ग महिला संघले ओमेन काईन्ड वर्ल्डवाइड सहयोगमा संचालित “अवरोध घटाऊँ न्यायमा पहुँच बढाऊँ”” परियोजना अन्तर्गत यही २०७९ साल भाद्र २२, २३ र २४ गतेसम्म काठमाडौंको हार्दिक होटेलमा “अपाङ्गता भएका महिलाहरुको सन्दर्भमा लैङ्गिक हिंसा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम” तालिम आयोजना गर्यो । अपाङ्गता भएका महिलाहरुको क्षमता विकास तथा परिचालन गरी सम्भावित हिंसाहरुको रोकथाम गर्ने लैङ्गिक हिंसा सम्बन्धी बुझाइलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा काठमाडौं, ललितपुर र काभ्रे जिल्लाका सुनाई सम्बन्धी अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, शारिरिक अपाङ्गता भएका महिलाहरु र बौद्धिक अपाङ्गता भएका व्यक्ति अभिभावकहरु सहित १९ जना महिला सहभागी थिए ।
कार्यक्रममा अपाङ्गताको परिचय र परिभाषा तथा वर्गिकरण बारे जानकारी गराउनुका साथै अपाङ्गता परिचयपत्रको महत्व बारे सम्बन्धी जानकारी दिईएको थियो । स्थानीय तहमा रहेका अपाङ्गता समन्वय समितिको काम र कर्तव्य सहित अपाङ्गता भएका व्यक्तिका लागि राज्यले व्यवस्था गरेका सेवा-सुविधा बारे पनि चर्चा गरिएको थियो ।
त्यस्तै, महिलाविरुद्धको हिंसा नियन्त्रण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, नियमावली तथा अध्यादेश बारे छलफल गरिनुका साथै यस्ता कानुनहरुले हिंसा न्यूनिकरणमा के-कस्ता भूमिका गर्छ भन्ने सवालमा अन्तर्क्रिया गरिएको थियो । त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकार सुनिश्चतताका लागि लक्षित गरि बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु बारे समेत छलफल गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा अपाङ्गता भएका महिला र किशोरीहरुले भोगेका लैङ्गिक विभेद र अपाङ्गताकै आधारमा हुने भेदभाव बारे सहभागीहरुले आ -आफ्ना अनुभवहरु साटासाट गरेका थिए । त्यस्तै, दैनिक जीवनमा बाध्यतापूर्वक भोग्नु परेका विभेदका प्रकारहरु, लैङ्गिक हिंसाका जोखिम स्थान पहिचान, न्यायिक निकायको भूमिका, न्याय दिने ढाँचा र तरिका बारे छलफल गरी यस्ता अवस्थाको के-कसरी सामना गर्ने र हिंसाविरुद्ध प्रतिकार गर्ने भन्ने विषय पनि छलफल गरिएको थियो ।
लैङ्गिक हिंसा प्रभावितसँग कुरा गर्दा ध्यान दिनुपर्ने कुराहरु, लैङ्गिक हिंसाका घटना उजुरी दर्ताको प्रकृया, लैङ्गिक हिंसा रोकथामका उपाय, न्याय पाउन बाधा, चुनौती र प्रकृयामा व्यवहारिक झन्झटका सवालहरुमा चर्चा गरिएको थियो ।
सहभागीहरुले समुदायस्तरमा गई तालिम संचालन गर्नुपर्ने भएको हुँदा अपाङ्गता र हिंसासम्बन्धी विषयहरु बारे जानकारी गराउनुका साथै कुनै पनि तालिम सहजीकरण गर्दा सहजकर्ताको भूमिका के-कस्तो हुनुपर्ने र सवैले बुझ्ने गरी तालिम संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु बारे समेत जानकारी गराईएको थियो ।
यस प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहाल, महासचिव मीना पौडेल र अधिवक्ता विमला खड्काले सहजीकरण गर्नुभएको थियो ।