नेपाल अपाङ्ग महिला संघको समन्वय र साथी संस्थाको आयोजनामा महिलामाथि हुने सवै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी सिडले अपाङ्गता भएका महिलाका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा अपाङ्गता भएका महिलासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । संयुक्त राष्ट्र संघ सिड कमिटीका सदस्य बन्दाना राणाले सहजीकरण गर्दै सिडले सारभुत समानताको सिद्धान्तका विषयमा कुरा गर्ने भएकाले अपाङ्गता भएका महिलामाथिको हिंसा र विभेदको विषय समेटेको बताउनुभयो ।
उहाँले सवै महिला र बालिकामाथिको विभेदको कुरा गर्ने भएकाले सिड महासन्धी अत्यन्त महत्वपूर्ण भएको र सवैले थाहा पाउनु जरुरी भएको बताउनुभयो । महिलामाथिको विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय कानुन भएकाले यो महासन्धी निकै शक्तिशाली भएको उहाँको भनाइ थियो । महासन्धीको पक्ष राष्ट्रहरुले नीतिमात्र नभएर परिणाममै हेर्ने भएको सिड कमिटीले सदस्य राष्ट्रहरुलाई परिणामका बारेमा सोध्ने जानकारी उहाँले दिनुभयो । अन्तर्क्रियामा उहाँले सिड के हो, सिडले के के विषय समेट्छ र कसरी रिपोर्टिङ र अनुगमन हुन्छ भन्ने विषयमा जानकारी दिनुभयो ।
उहाँले नागरिक समाजले सिडको छायाँ प्रतिवेदन बनाउँने प्रक्रिया र आफ्ना विषयलाई प्रभावकारी रुपमा कसरी समेट्ने भन्ने विषयमा जानकारी दिनुभयो । साथै उहाँले अपाङ्गता भएका महिलाहरूले अपाङ्गता अनुकूलको संरचना, अर्थपूर्ण सहभागिता, न्यायमा पहुँच लगायतका सवालहरूलाई समेटेर सिडका लागि छुट्टै छायाँ प्रतिवेदन तयार गर्न पनि सुझाउनुभयो । कार्यक्रममा सिडका विभिन्न विषयगत धाराले अपाङ्गता भएका महिलाका सवाललाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमा समूहकार्य भएको थियो ।
महिलामाथि हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी सिडमा नेपालले २०४८ सालमा हस्ताक्षर गरेको हो । यो महासन्धीका ३० वटा धारा छन् जसमध्ये १ देखि १६ सम्मका धाराले विषयगत कुरालाई सम्बोधन गरेको छ भने बाँकी १४ वटा धारा प्रशासनिक विषयका बारेमा छ । संयुक्त राष्ट्र संघका १९४ सदस्य राष्ट्र मध्ये १८९ राष्ट्रले यो महासन्धी अनुमोदन गरेका छन् ।