नेपाल अपाङ्ग महिला संघले समीक्षा गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूसँग जुलाई ९, २०२४ मा छलफल गरिएको छ।
छलफलका क्रममा सांसदहरूले समितिमा अपाङ्गता भएका महिलाहरूका संवेदनशील र विशिष्ट मुद्दाहरूमाथि छलफल गर्ने प्रतिबद्धता जनाएका छन्। सांसदहरूले यो विधेयक सदनमा जानुअघि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने भएकाले यहाँ उल्लेख गरिएका सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयहरू विधेयकमा समावेश गर्न सकिने बताए।
समितिका सभापति अम्मर बहादुर थापाले अपाङ्गताको गम्भीरताको आधारमा सेवा प्रदान गर्न सजिलो होस् भनेर १० प्रकारमा वर्गीकरण गरिए पनि अझै सेवा प्रदायकबाट प्रभावकारी सेवा पाउन नसकिरहेको बताउनुभयो।
समितिकी सदस्य तथा सांसद दीपा शर्माले एनडीडब्लुएले अपाङ्गता भएका महिलाहरूको सुरक्षित मातृत्व तथा प्रजनन अधिकारका लागि तयार पारेको दस्तावेजमा समावेश गरिएका विशिष्ट र संवेदनशील विषयहरू समितिमा छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा. टोसिमा कार्कीले तिन महलेमार्फत अपाङ्गता भएका महिलाहरूका विशिष्ट समस्याहरू ल्याइएकाले विधेयकमा छलफल गर्न र समावेश गर्न सजिलो हुने बताउनुभयो।
उहाँले सबै प्रकारका अपाङ्गताका छुट्न सक्ने विषयहरू हुन सक्ने भएकाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू र अपाङ्गताको क्षेत्रमा काम गर्ने कानून व्यवसायीहरूसँग समितिमा छलफल गर्न चाहेको कुरामा जोड दिनुभयो।
छलफलमा एनडीडब्लुएकी अध्यक्ष टीका दाहालले अपाङ्गता भएका महिलाहरूको दृष्टिकोणबाट तयार पारिएको तिन महले प्रस्तुत गर्नुभयो। कार्यक्रममा समितिका सभापति सहित छ जना सदस्यहरूको सहभागिता रहेको थियो।