अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई मंसिर ७ र ८ गते चौंथो चरणको दुई दिने तालिमको आयोजना गर्यो । तालिममा प्रदेश १ बाट इलाम र मोरङ, बागमतीबाट दोलखा, काभ्रे, ललितपुर, काठमाडौं, रसुवा र धादिङ, गण्डकीबाट कास्की र गोर्खा, सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुर, कर्णाली प्रदेशबाट सुर्खेत र दैलेखलगायत १३ वटा जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य, च्याप्टर सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी ३५ जनाको सहभागिता थियो ।
संघले नेपाल सरकारले हस्ताक्षर गरेका अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि UNCRPD, मानव अधिकारको विश्वव्यापी घोषणापत्र UDHR र अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको क्षमता बढाउन तालिमको आयोजना गरेको हो । तालिममा अपाङ्गता अधिकार ऐन २०७४, नियमावली, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी), महासन्धीको आवधिक प्रतिवेदन तयार र रिपोर्टीङ प्रक्रिया, महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड) दिगो विकाशका लक्ष्य (SDG), मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपाल मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा सहभागीलाई जानकारी दिइएको थियो । तालिमको सहजीकरण मानव अधिकार आयोगका सचिव मुरारी खरेल, अधिवक्ता सविन श्रेष्ठ, अधिवक्ता कपिल अर्याल, नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टिका दाहाल, महासचिव मीना पौडेलले गर्नुभएको थियो