नेपाल अपाङ्ग महिला संघले उच्च र निम्न प्रविधिका सिकाइ सामग्री र तालिम उपलब्ध गराएका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौं, ललितपुर, धादिङ र काभ्रेमा गरी पाँचवटा छलफल कार्यक्रम गरेको हो । सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर उच्च र न्युन प्रविधि प्रयोग गरी बालबालिकाको सिकाईमा विविधता र आवश्यकता सम्बोधन गर्न सहजीकरणका लागि शिक्षकहरूलाई तालिम दिइसकेपछि यसका बारेमा जानकारी गराउन विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिलाई अभिमुखीकरणको आयोजना गरिएको हो । यी पाँचवटा अभिमुखीकरणमा प्रधानाध्यापकहरू, सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सदस्यहरू शिक्षक अभिभावक संघका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी ४० वटा विद्यालयका ८६ जनाको सहभागिता रहेको थियो ।
प्रारम्भिक तहका सिकाइमा संघर्ष गरिरहेका वा कठिनाइ भएका बालबालिकालाई कक्षाकोठामा न्युन र उच्चप्रविधि प्रयोग गरी समान सिकाइ हासिल गर्नका लागि स्थानीय तह र विद्यालय व्यवस्थापनले प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रथमिकता दिनुपर्ने कुरा अभिमुखीकरणका क्रममा छलफल गरिएको थियो । अभिमुखीकरणमा सहभागीहरूले प्रविधिमार्फत गरिने सिकाइ उत्कृष्ट हुने कुरामा सहमति जनाएका थिए । अभिमुखीकरणमा सवै विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयको आगामी बार्षिक योजनामा उच्च तथा न्युन प्रविधिलाई पाठ्यक्रममा समावेश गरी शिक्षण सिकाइ गर्ने र यी सामग्रीहरू व्यवस्थापन गर्ने प्रतिवद्धतासहित योजना तयार गरेका थिए ।
यसअघि सामुदायिक, विशेष र स्रोत विद्यालयमा पढाउने शिक्षकहरूका लागि सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी ४ वटा शिक्षक तालिम र यसैमा आधारित ३ वटा पुनर्ताजगी तालिम सम्पन्न गरेको थियो । सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर उच्च र न्युन प्रविधि प्रयोग गरी बालबालिकाको सिकाईमा विविधता र आवश्यकता सम्बोधन गर्न सहजीकरण गर्नु तालिमको उद्देश्य रहेको थियो ।
शिक्षकहरुलाई यीनै सिद्धान्तमा रहेर प्रारम्भिक तहका अन्यसँगै सिकाइमा संघर्ष गरिरहेका वा कठिनाइ भएका बालबालिकालाई कक्षाकोठामा न्युन र उच्चप्रविधि प्रयोग गरी समान सिकाइ कसरी हासिल गर्ने भन्ने बारेमा तालिममा सिकाइएको थियो । सिकाइको विश्वव्यापी सिद्धान्तको महत्व, कक्षा कोठा व्यवस्थापन र वैयक्तिक शैक्षणिक योजनाका बारेमा स्वयं शिक्षकहरुको सहभागितामा समूहकार्य मार्फत तालिम सहजीकरण गरिएको थियो ।
बागमती प्रदेश अन्तर्गत ४ वटा जिल्लाका ४९ वटा विद्यालयमा पढाइरहेका लगभग ९६ जना शिक्षकलाई चार चरणमा उपलब्ध गराइएको तालिमलाई अझै विशिष्टिकृत गर्न उनीहरु कै लागि यो पुनर्ताजगी तालिमको आयोजना गरिएको हो ।
अभिमुखीकरणका क्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिहरूलाई शिक्षकलाई उपब्ध गराइएको तालिम र विद्यालयलाई उपलब्ध गराइएको न्युन र उच्च प्रविधिका शिक्षण सिकाइका सामग्रीहरुका बारेमा पनि जानकारि गराइएको थियो ।
LEARN परियोजना All Children Reading: A Grand Challenge for Development (ACR GCD), USAID, World Vision, र अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग र विश्व शिक्षा (World Education inc.) को साझेदारीमा नेपाल अपाङ्ग महिला संघले Leveraging Existing Accessibility Resource in Nepal- LEARN परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकालगायत प्रारम्भिक कक्षाका सबै बालबालिकाको भाषिक र पठन सिप सुधारका लागि बागमती प्रदेश अन्तर्गत ४९ वटा स्कुलका १७१ जना शिक्षकलाई बिभिन्न चरणमा ७ वटा तालिमको आयोजना गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण