न्यायमा पहुँच विषयक एसियास्तरीय क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न

Group photo of The Asia-level Regional Conference on Access to Justice for Persons with Disabilities

अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच विषयक एसियास्तरीय क्षेत्रीय सम्मेलन पहिलो पटक  काठमाण्डौंमा सम्पन्न भयो । मे महिनाको ११ र १२ तारिक २०२४ मा सम्पन्न उक्त सम्मेलनमा  एसियाका १५ देशका अपाङ्गता अधिकारकर्मी, विषय विज्ञ, सरोकारवाला, युएन वोमेन, युएनसीआरपीडी समिति सदस्य, आइसिजेका अन्तराष्ट्रिय विज्ञ समूहको सहभागिता रहेको थियो । उक्त दुईदिने सम्मेलनको आयोजना International Commission of Jurists  (ICJ) Transforming Communities for Inclusion (TCI ), KOSHISH   र नेपाल अपाङ्ग महिला संघ NDWA को साझेदारीमा भएको थियो ।

NDWA's Vice president ms Meena Paudel conducting the panel discussion उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले गर्नुभएको थियो । उक्त अवसरमा स्वागत स्वरूप चार प्रकारका अपाङ्गता भएका महिला कलाकारले समावेशी नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यले सबैको मन छोएको थियो । सम्मेलनमा नेपालका दिग्गज अधिकारकर्मी, विषय विज्ञ, नागिरक समाज, पत्रकार, अभिभावक तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न विषयमा चारवटा विषयगत सत्रहरु आयोजना गरिए । यी सत्रमा पूर्व प्रधानन्यायधिस, पूर्व महान्यायधिवक्ता हरि फुयाँललगायत अन्य अधिवक्ताहरुले  न्यायको क्षेत्रमा आफूहरूले गरेका समावेशी र उत्कृष्ट निर्णयका बारेमा अनुभव प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपालका प्रदेश तथा राष्ट्रियस्तरका अग्रज अपाङ्गताकर्मीहरु र अन्तर्राष्ट्रिय गरि जम्मा ७० जनाको सहभागिता रहेको थियो । यसै गरी भारतका पूर्व प्रधानन्याधिस इन्दीरा वनर्जि, श्रीलंकाका सर्वोच्च अदालतका न्यायधिस श्री मुर्दु निरुपा विदुसिनि फरनाण्डो, सर्वोच्च अदालत, थाइल्याण्डका श्री थान्यानुच तान्तिकुल- राष्ट्रपतिको कार्यालयका न्यायाधीशलगायतले आफ्नो देश र क्षेत्रमा  अपाङ्गता भएका व्यक्तिका लागि गरेका निर्णय र प्रक्रियामा गर्नु भएको राम्रो काम र चुनौतीका बारेमा रोचक सन्दर्भहरु साझा गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा आगामी दिनमा न्यायमा पहुँचका लागि गर्नुपर्ने कार्यहरुसहितका बुँदाहरूमा सहमत भइ घोषणापत्र जारी गरिएको थियो ।