नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्य समिति

Newly elected committee taking an Oath

 

नेपाल अपाङ्ग महिला संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले मीना पौडेलको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

स‌ंघको नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्षमा शोभा विष्ट खतिवडा महासिचवमा देव कुमारी पराजुली सचिवमा सुनिता थापा र कोषाध्यक्ष मा दिपा खनाल रहेका छन् । यसैगरी सदस्यहरूमा एलिजा चापागाईं, चिजमाया विक, रामप्यारी कार्की, उमा खनाल, सरिता थापा मगर र इन्दिरा विष्ट रहेका छन् । स‌ंघको विधान अनुसार दुईजना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

यसअघि नेपाल अपाङ्ग महिला संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले गर्नुभएको थियो ।  उद्घाटन सत्रपछिको बन्दसत्रमा संघका महासचिव देव कुमारी पराजुलीले संघले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शोभा विष्ट खतिवडाले संस्थाको आर्थिक प्रतिवेदन र आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

साधारण सभामा स‌ंघका पूर्व अध्यक्षहरू रमा ढकाल, निर्मला धिताल, निर्वतमान अध्यक्ष टीका दाहाल र नवनिर्वाचित अध्यक्ष मीना पौडेलले मन्तव्य राख्ने क्रममा अपाङ्गता आन्दोलनभित्र महिलाहरूलाई फुटाएर फाइदा लिन खोज्नेदेखि सतर्क रहन सदस्यहरुलाई सचेत गराएका थिए ।

नेपाल अपाङ्ग महिला स‌ंघले धेरै अपाङ्गता भएका महिलाको अधिकार स्थापित गर्न खेलेको भुमिका नविर्सन आग्रह गर्दै उनीहरूले नेतृत्वलाई सघाइ आन्दोलनलाई बलियो बनाउन आग्रह गरे ।