नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) ले काठमाडौंमा अपाङ्गता भएका महिला तथा बालिकाहरू विरुद्ध हुने लैङ्गिक हिंसा (जीबीभी) को रोकथाम र समावेशी प्रतिक्रियाको विषयमा एक कार्यशाला आयोजना गर्यो। यो कार्यक्रम सीबीएम ग्लोबल नेपालको सहकार्यमा आयोजना गरिएको थियो। कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूका संघसंस्थाका नेतृत्व र प्रतिनिधिहरू सहित ३९ जना सहभागी थिए।
कार्यशालाका क्रममा सहभागीहरूले समाजमा अपाङ्गता भएका महिलाहरूले भोग्नुपरेको हिंसाको बारेमा छलफल गरे। उनीहरूले प्रमाणको अभावका कारण धेरै महिलाहरू न्याय पाउन नसकेका र केहीलाई त आफूमाथि हिंसा भइरहेको पनि थाहा नहुने कुरा औंल्याए।
भक्तपुरकी एक सहभागीले बौद्धिक अपाङ्गता भएकी २१ वर्षीया एक महिलालाई छिमेकका पुरुषहरूले शोषण गरेको र पीडितलाई सहयोग गर्नुको साटो दोषीहरूलाई जोगाउने प्रयास गरिएको दुःखद घटना सुनाइन्। यसैगरी, श्रवण शक्ति कमजोर भएका महिलाहरूले सञ्चार बाधाका कारण न्याय प्राप्त गर्न कठिनाई भोग्नुपरेको कुरा पनि उल्लेख गरियो। समूह छलफलमार्फत सहभागीहरूले लैङ्गिक हिंसा सम्बोधन गर्ने सरकारी सेवाहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य र संवेदनशील नभएको निष्कर्ष निकाले। त्यसैले उनीहरूले यी समस्याहरूको समाधानका लागि सबै अपाङ्गता भएका व्यक्तिहरूका संघसंस्थाहरू (ओपीडी) बीच सहकार्यको महत्व औंल्याए।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले लैङ्गिक हिंसा सम्बोधन गर्ने कानुनी व्यवस्थाहरूको बारेमा जानकारी दिनुभयो भने उपाध्यक्ष मीना पौडेलले संघले गरेको एक अध्ययनका निष्कर्षहरू प्रस्तुत गर्नुभयो। कार्यशाला संघकी महासचिव देव कुमारी पराजुलीले सहजीकरण गर्नुभएको थियो।