अपाङ्गता र समावेशी विकासमा सरोकारवालाहरुसँग छलफल

Tika Dahal facilitating the session about disability inclusion

 

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता र समावेशी विकासमा सरोकारवालाहरुसँग छलफल गरेको छ । स‌ंघले माघ ३ गते ललितपुरमा आयोजना गरेको अन्तर्कियामा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिमाथि हुने दुर्व्यवहार, भेदभाव र उनीहरुलाई गरिने बेवास्तालाई अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक विकासमा नीतिगत समावेशीका लागि आवाज उठाउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी सेवा प्रदायक निकायका प्रतिनिधिहरुले अपाङ्गता बारेको बुझाइमा स्पष्ट नहुँदा र  उनीहरुले पाउने सेवा सुविधा र सम्बोधनमा अलमल भएका कारण अपाङ्गता समावेशीमा काम गर्न समस्या भइरहेको बताए ।  कतिपय नीति निर्माणमा बसेकाहरुको पूर्वाग्रही दृष्टिकोणका कारण पनि सेवा प्रवाहमा कठीनाइ भइरहेको जनाए । अपाङ्गता भएका व्यक्ति र सेवा पाउनुपर्नेहरुको यकिन तथ्याङ्क नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको उनीहरुको भनाइ थियो ।

गोदावरी नगरपालिका पञ्जिकरण शाखाका अनन्त महर्जनले  यो महिनादेखि अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सामाजिक सूचना व्यवस्थापन सिष्टममार्फत राख्न थालेको जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका महिला विकास शाखाका प्रमुख शोभा खरेलले अपाङ्गता क्षेत्रका लागि १४ लाख रुपैयाँ बजेट छुट्टयाएको जानकारी दिँदै अपाङ्गता अधिकार एेन अनुसार पालिकाले १६ वटा प्राथमिकताका क्षेत्र तोकेर  चारवर्षे कार्यायोजना बनाएको बताउनुभयो । कानुनी सचेतनाका लागि प्रत्येक वडालाई जिम्मेवार बनाइएको स्मार्ट शौचालय बनाउने काम भइरहेको र नगरपालिका अन्तर्गत कुसुन्तिमा बनाउन लागिएको आकाशे पुलमा लिफ्ट राख्ने जानकारी दिनुभयो । उहाँले पढेलेखेका व्यक्तिहरुले समेत अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपमानजनक शब्दहरु बोल्ने गरेकाले विद्यालय र क्याम्पसहरुमा पढाउने शिक्षकहरुलाई चेतना बढाउने काम गरेको बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका कार्यक्रम अधिकृत तारा कुमारी केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरणका लागि १० लाख बजेट छुट्टयाएको जानकारी दिनुभयो ।

कार्यक्रममा अन्य सरोकारवालाहरुले आफूहरु गर्दै आएका गतिविधिहरुमा पनि अपाङ्गता समावेशी र उनीहरुका सवाल छुट्ने गरेको बताउँदै अव अपाङ्गता समावेशीतालाई ध्यान दिने बताए ।

अन्तर्क्रियामा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले राज्यले तोकेको क्लष्टरमा अपाङ्गता समावेशीमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । महिलाका लागि आएका हरेक कार्यक्रममा  लैङ्गिक समानता अपाङ्गता सामाजिक समावेशीको अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

उपाध्यक्ष मीना पौडेलले अपाङ्गता समावेशी भनेको एउटा र्‍याम्प बनाएरमात्रै नहुने हरेक संरचना र सेवाहरु पहुँचयुक्त हुनुपर्ने आवश्यकता अौल्याउनुभयो । उहाँले समावेशितामा काम गर्दा पहुँचवालले मात्रै अवशर पाएकाले पछाडी पारिएकाहरुलाई प्रथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

महासचिव देव कुमारी पराजुलीले अपाङ्गता समावेशी सम्वन्धी कार्यक्रमको संचालन गर्नु भएको थियो ।

अन्तर्क्रियामा स्थानीय पालिकाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गरेका संघसंस्थाका प्रतिनिधिलगायत ३५ जनाको सहभागिता थियो ।