अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसका अवशरमा आज काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डपबाट प्रभातफेरीको सुरुवात गर्नुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघको संयुक्त आयोजनामा भएको प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भइ शहिदगेट, रत्नपार्क हुँदै पुन: भृकुटीपण्डप पुगेर सभामा परिणत भएको थियो । मन्त्री रेग्मीसहित निस्किएको प्रभातफेरीमा अपाङ्गता अधिकारको क्षेत्रमा कार्यरत स‌ंघसंस्थाहरुको उल्लेख्य सहभागिता थियो । साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको पनि प्रभातफेरीमा सहभागी थिए । प्रभातफेरीमा  नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी आफ्नो व्याण्डसहित सहभागी भएका थिए । “समावेशी विकासका लागि रुपान्तरित समाधान:  पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रवधान” भन्ने नारा यस वर्षको ३१ औं  अपाङ्गता दिवशको नारा रहेको थियो । प्रभातफेरीमा नेपाल अपाङ्ग महिला संघले “अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि साझेदारी: न्यायमा पहुँचका लागि खबरदारी” भन्ने नारासहित सहभागिता जनाएको थियो ।