सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

Deputy Mayor of KMC delivering her speech

 

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता ड‌ंगोलले न्यायिक समितिमा अहिलेसम्म अपाङ्गता भएका महिलाको उजुरी नआएको बताउनु भएको छ । नेपाल अपाङ्ग महिला संघले  भदौ ५ गते काठमाडौंमा आयोजना गरेको अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्ता मुद्दा दर्ता भएमा प्राथमिकता दिएर मुद्दा हेर्ने र न्याय दिलाउने व्यवस्था भएको जानकारी दिनुभयो । महिलाहरुको न्यायमा पहुँच पुर्‍याउन महानगरपालिका अन्तर्गतका सवै वडामा महिला सञ्जाल बनाएको  उहाँले बताउनुभयो । वडामा हुने लैङ्गिक हिंसाका घटनाहरु जुन न्यायिक समितिमा आउन नपर्ने वा प्रहरीमा वा सिधै एकद्वार संकट व्यवस्थापन केन्द्रमा जाने लैङ्गिक हिंसाका घटनाहरु न्यायिक समितिमा नआइ सिधै जान सञ्जालले सहजीकरण गर्ने उहाँले बताउनुभयो । साथै उहाँले महानगरपालिकाका नयाँ बन्ने संरचनाहरु अपाङ्गतामैत्री बनाउने नीति रहेको जानकारी पनि दिनुभयो ।

Representatives from different service providers are participating in an interaction

 

काठमाडौं प्रहरी उपत्यका कार्यालयका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले अपाङ्गता भएका  व्यक्तिलाई सम्मानजनक व्यवहार गर्न, उनीहरुप्रतिको कार्यशैली सुधार्न र अपाङ्गता भएका महिलामाथिको हिंसा न्यूनिकरण गर्न आफ्नो कार्यालय अन्तर्गतका १८ वटा बृत्तमा परिपत्र गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयका प्रमुख शारदा थापाले अपाङ्गता भएका व्यक्ति र खासगरि हिंसा प्रभावित भएका महिलाको तथ्याङ्क राख्ने गरि अभिलेखिकरण फाइल बनाएको जानकारी दिनुभयो ।

एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख सुकु लामाले  अपाङ्गता भएका महिला हिंसाको जोखिममा धेरै भएको भन्दै केन्द्रमा प्रभावित आएपनि उनीहरुलाई पुनर्स्थापना गर्न निकै समस्या र चुनौती भएको बताउनुभयो । अपाङ्गता भएका हिंसा प्रभावित महिलालाई पुर्नस्थापनाका लागि निकै चुनौती रहेको उहाँकव भनाइ थियो । उहाँका अनुसार देश भरी ९४ वटा एकद्वार संकट व्यवस्थापन केन्द्र भएपनि सवै केन्द्रका भौतिक संरचना र सेवाहरु अपाङ्गतामैत्री छैनन् । उहाँले दोभाषे नहुँदा सुनाइ सम्बन्धी अपाङ्गता भएका महिलाका लागि मनोपरामर्श सेवा दिन समस्या रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष मीना पौडेलले अपाङ्गता भएका महिला र वालिकाको न्यायमा पहुँचको अवस्था यसका लागि विद्यमान कानुनी व्यवस्थाका बारेमा र  महासचिव देव कुमारी पराजुलीले  अपाङ्गताका प्रकारका बारेमा जानकारी दिनुभएको थियो ।

स‌ंघले अपाङ्गता भएका महिला र बालिकामाथि हुने लैङ्गिक हिंसाका बारेमा काठमाडौंमा कार्यरत नेपाल प्रहरी, नेपाल प्रहरी अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक  सेवा केन्द्रका कर्मचारी, काठमाडौं महानगरपालिका अन्तर्गत महिला विकास शाखाका कर्मचारीका लागि यो अभिमुखीकरणको आयोजना गरेको हो । अभिमुखिकरणमा ३३ जनाको सहभागिता थियो ।