लैङ्गिक हिंसा सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले ओमेन काईन्ड वर्ल्डवाइड  सहयोगमा संचालित “अवरोध घटाऊँ न्यायमा पहुँच बढाऊँ”” परियोजना अन्तर्गत यही २०७९ साल भाद्र २२, २३ र २४ गतेसम्म काठमाडौंको हार्दिक होटेलमा “अपाङ्गता भएका महिलाहरुको सन्दर्भमा लैङ्गिक हिंसा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम” तालिम आयोजना गर्‍यो । अपाङ्गता भएका महिलाहरुको क्षमता विकास तथा परिचालन गरी सम्भावित हिंसाहरुको रोकथाम गर्ने लैङ्गिक हिंसा सम्बन्धी बुझाइलाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।  तालिममा काठमाडौं, ललितपुर र काभ्रे जिल्लाका सुनाई सम्बन्धी अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, शारिरिक अपाङ्गता भएका महिलाहरु र बौद्धिक अपाङ्गता भएका व्यक्ति अभिभावकहरु सहित १९ जना महिला सहभागी थिए ।

कार्यक्रममा अपाङ्गताको परिचय र परिभाषा तथा वर्गिकरण बारे जानकारी गराउनुका साथै अपाङ्गता परिचयपत्रको महत्व बारे सम्बन्धी जानकारी दिईएको थियो । स्थानीय तहमा रहेका अपाङ्गता समन्वय समितिको काम र कर्तव्य सहित अपाङ्गता भएका व्यक्तिका लागि राज्यले व्यवस्था गरेका सेवा-सुविधा बारे पनि चर्चा गरिएको थियो ।

त्यस्तै, महिलाविरुद्धको हिंसा नियन्त्रण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, नियमावली तथा अध्यादेश बारे छलफल गरिनुका साथै यस्ता कानुनहरुले हिंसा न्यूनिकरणमा के-कस्ता भूमिका गर्छ भन्ने सवालमा अन्तर्क्रिया गरिएको थियो । ‍त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकार सुनिश्चतताका लागि लक्षित गरि बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु बारे समेत छलफल गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा अपाङ्गता भएका महिला र किशोरीहरुले भोगेका लैङ्गिक विभेद र अपाङ्गताकै आधारमा हुने भेदभाव बारे सहभागीहरुले आ -आफ्ना अनुभवहरु साटासाट गरेका थिए । त्यस्तै, दैनिक जीवनमा बाध्यतापूर्वक भोग्नु परेका विभेदका प्रकारहरु, लैङ्गिक  हिंसाका जोखिम स्थान पहिचान, न्यायिक निकायको भूमिका, न्याय दिने ढाँचा र तरिका बारे छलफल गरी यस्ता अवस्थाको के-कसरी सामना गर्ने र हिंसाविरुद्ध प्रतिकार गर्ने भन्ने विषय पनि छलफल गरिएको थियो ।

लैङ्गिक हिंसा प्रभावितसँग कुरा गर्दा ध्यान दिनुपर्ने कुराहरु, लैङ्गिक हिंसाका घटना उजुरी दर्ताको प्रकृया, लैङ्गिक हिंसा रोकथामका उपाय, न्याय पाउन बाधा, चुनौती र प्रकृयामा व्यवहारिक झन्झटका सवालहरुमा चर्चा गरिएको थियो ।

सहभागीहरुले समुदायस्तरमा गई तालिम संचालन गर्नुपर्ने भएको हुँदा अपाङ्गता र हिंसासम्बन्धी विषयहरु बारे जानकारी गराउनुका साथै कुनै पनि तालिम सहजीकरण गर्दा सहजकर्ताको भूमिका के-कस्तो हुनुपर्ने र सवैले बुझ्ने गरी तालिम संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु बारे समेत जानकारी गराईएको थियो ।

यस प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष  टीका  दाहाल, महासचिव मीना पौडेल र अधिवक्ता  विमला खड्काले सहजीकरण गर्नुभएको थियो ।