बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ को आयोजना र नेपाल अपाङ्ग महिला संघको संयोजनमा  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६  मा  जेठ २१ गते “अपाङ्गता अभिमुखीकरण तथा सम्मान” कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २, ६ र ८ बाट  ३२ अपाङ्गता भएका व्यक्तिलगायत ५० जना सहभागी थिए ।

कार्यक्रममा  अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच नभएको, अटिज्म र बौद्धिक अपाङ्गता भएका बालवालिकाको हेरचाह र उनीहरुका अभिभावकलाई आयआर्जनमा कठिनाइ भइरहेको,  उनीहरुको रोजगारी र स्वरोजगारीमा पहुँच नहुँदा उत्पन्न समस्या सहभागीहरुले  राखेका थिए ।

अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरुले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास र समग्र उत्थानमा काम गर्ने प्रतिवद्धता जनाएका थिए । वडा ६ का वडा सदस्य सुनिल महर्जनले  आफुले १ वर्षमा वडाबाट पाएको सेवा सुविधाबापत प्राप्त रकम उक्त वडाका अपाङ्गता भएका व्यक्तिहरूको लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा  वडा नम्बर छ का वडा अध्यक्ष रवि खड्काले अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।  उहाँले आगामी आर्थिक वर्ष ०८०/०८१ मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा अटिज्म भएका बालबालिकाका लागि विद्यालय भवन निर्माण सम्पन्न गरी उनीहरूका लागि नि शुल्क शिक्षाको व्यवस्था गर्ने र सकेसम्म अटिज्म भएका बालबालिकाका अभिभावकलाई नै विद्यालयमा रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अभिमुखीकरणमा अपाङ्गताका प्रकार, उनीहरुले राज्यबाट पाउने सेवा सुविधा, अपाङ्गता भएका वालकालिकालाई  हेरचाह  र अपाङ्गता भएका व्यक्तिहरुले भोग्दै आएका समस्याका बारेमा छलफल भएको थियो । यी विषयमा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मीना पौडेल र कोषाध्यक्ष शोभा विष्टले सहजीकरण गर्नुभएको थियो ।