अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महासंघले आफ्ना सदस्यहरूलाई भदौको ५ र ६ गते गरी दुई दिने तालिमको आयोजना गर्यो । तालिममा कैलाली, बर्दिया, मकवानपुर, काभ्रे तनहुँलगायत उपत्यकाका तीनै जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी ३० जना भन्दा बढीको सहभागिता थियो ।
संघले नेपाल सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धि र अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको क्षमता बढाउन तालिमको आयोजना गरेको हो । तालिममा अपाङ्गता अधिकार ऐन २०७४, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी) महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड) मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपाल मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।