अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि लुम्विनी प्रदेशमा पहुँचयुक्त आघात सुसूचित हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्बन्धी प्रदेशस्तरीय पाँचदिने तालिम लुम्विनी प्रदेशको वुटवलमा सम्पन्न भएको छ ।

तालिममा दाङ, अर्घाखाँची, बाँके कपीलवस्तु र रुपन्देही गरी ५ जिल्लाका २५ जना महिला सहभागी थिए ।  यी मध्ये ८ जना अपाङ्गता भएका महिला तालिममा सहभागी भए । तालिममा जनप्रतिनिधि एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि, परामर्शदाता, महिला सेलमा कार्यरत महिला प्रहरी सहभागी थिए ।

हिंसा प्रभावित महिलाको आघात व्यवस्थापन गरि उनीहरूलाई पहुँचयुक्त  परामर्श दिन सहयोग पुर्‍याउने उद्देश्यले यो तालिमको आयोजना  गरिएको हो ।

सहभागीहरूलाई आघातका बारेमा विस्तृत जानकारी गराइ आफूभित्र भएको तनाव, आघातलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अभ्यास स्वरुप जीवनको खोला बनाउने, शारीरिक व्यायाम, ध्यान साथसाथै प्रस्तुती, दौंतरी परामर्श जस्ता विधिहरू  तालिममा अपनाइएको थियो । तालिममा सहभागीहरू सवैले आ आफ्ना कथा र आफूलाई परेको आघातको अनुभव सुनाएका थिए । प्राय सहभागीहरूले आफ्ना तनाव  र आफूमा परेको आघात साझा गरेका थिए ।  तालिममा हरेक व्यक्तिभित्र  आ—आफ्नै कथा, पिडा लुकेर बसेका रहेछन् र त्यसले धेरै ठूलो आघात पनि पुर्‍याइरहेको रहेछ भन्ने  पाठ  सिक्ने मौका मिलेको  सहभागीहरूले बताएका थिए । तालिम मनोविज्ञ कञ्चन रावतले सहजीकरण गर्नुभएको थियो  ।