‘हामी सबैको प्रतिबद्धताःलैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर २०२४ सोमबारदेखि सुरु भएको छ ।
अभियानका उपलक्ष्यमा सोमबार बिहान महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालियो । माइतीघरदेखि सुरु भएको र्याली भृकुटीमण्डपमा गएर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल अपाङ्ग महिला संघलगायत २० भन्दा धेरै संघसंस्थाको सहभागिता थियो ।
र्यालीमा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइएको थियो । साथै श्रमको सम्मान, हिंसा प्रभावित महिलाको न्यायमा पहुँच बढाउन व्यवस्था गरिएका सबै निकाय र संयन्त्रको प्रभावकारी, पहुँचयुक्त गुणस्तरीय र लैंगिकउत्तरदायी सेवा प्रवाहको सुनिश्चितता, सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत नारा लगाएका थिए ।