बुढानीलकण्ठ नगरपालिकामा लैंगिक हिंसाविरुद्ध कार्यक्रमबारेमा छलफल

Deputy mayor of Budhanilkantha municipality delivering her speech

 

नेपाल अपाङ्ग महिला संघले  काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा पैरवीको काम गर्ने क्रममा भएका सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

सीवीएम ग्लोवल डिसेविलिटि इन्क्लुजनसँगको सहकार्यमा  नेपाल अपाङ्ग महिला संघले सन् २०२१ देखि २०२३ सम्म बुढानीलकण्ठ नगरपालिकामा पैरवी वकालतका कार्यक्रम सञ्चालन गरेको थियो । संघले उक्त पालिकामा आगामी दिनमा लैंगिक हिंसाविरुद्ध कार्यक्रम गर्ने छ । संघले पैरवी वकालतका कार्यक्रम सञ्चालन गर्दा अनुभव गरेका सिकाइ र चुनौती र आगामी दिनमा गर्ने कामका लागि गर्न सकिने सहकार्यका बारेमा छलफल गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

छलफलमा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले नेपाल अपाङ्ग महिला संघको पैरवी र वकालत कै कारण आर्थिक वर्ष २०८०/०८१ को पालिकाको नीति तथा कार्यक्रममा अपाङ्गताको विषयलाई सम्बोधन गरिएको र केही बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले अपाङ्गताका व्यक्तिहरूका सवालमा संवेदनशील र सकारात्मक हुँदाहुँदै पनि र नीति ल्याएर बजेटको व्यवस्था भएपनि  कार्यान्वयनमा ल्याइ व्यवहारमा देखाउन नसकिएको स्वीकार्नुभयो ।

साथै उहाँले पालिकामा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको र लिफ्टको व्यवस्था गरिने जानकारी दिनुभयो ।  नगरपालिकाका भित्रका १३ वटै वडा कार्यालयलाई  अपाङ्गतामैत्री स‌ंरचना बनाउन निर्देशन दिएको र पालिकाभित्र अव बन्ने सवै संरचना पहुँचयुक्त र अपाङ्गतामैत्री बनाइने जानकारी उहाँले दिनुभयो  ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरुले अपाङ्गता क्षेत्रमा कार्यरत सरोकारवालहरुसँग छलफल गरेर यस क्षेत्रमा वजेट छुट्टयाउने बताए ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङक राख्न चुनौती देखिएको बताउनुभयो ।

नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले संघले पैरवी वकालत सँगसँगै आगामी दिनमा लैंगिक हिंसाविरुद्ध गरिने कार्यक्रममा नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

छलफलमा नेपाल अपाङ्ग महिला संघकी परियोजना संयोजक गंगा देवकोटाले अपाङ्गता भएका महिलाहरूको सवालमा काम गर्ने क्रममा सन् २०२१ देखि २०२३ सम्म गरिएको  परियोजनाको कार्य क्षेत्र, उपलब्धी, गतिविधिहरू, चुनौती, अपेक्षा, आगामी योजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो  ।

माघको २५ गते सम्पन्न उक्त छलफलमा उपप्रमुख वडा अध्यक्षहरु पालिकाका कर्मचारी पालिकास्थित अपाङ्गता समन्वय समितिका सदस्यलगायत २८ जना सहभागि थिए ।