विश्व सामाजिक मञ्चमा नेपाल अपाङ्ग महिला संघ

six panelist sitting in the chair

 

नेपाल अपाङ्ग महिला संघले विश्व सामाजिक मञ्चमा सक्रिय रुपमा भाग लियो । फागुन ३  देखि  ७ गते (फेब्रुअरी १५ देखि १९) सम्म काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमा संघले एउटा अन्तर्क्रिया  सञ्चालन गर्‍यो ।

हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँचको अवस्था र अवरोधका विषयमा भएको अन्तरक्रियाका प्यानलिष्टहरुले हिंसा प्रभावित अपाङ्गता भएका महिलाका मुद्दा उनीहरुकामात्रै नभएर सवैको हुनुपर्नेमा जोड दिए । राज्यद्वारा प्रवाह गरिएका सेवा विना अवरोध लिन पाउने वातावरण बनाउनका लागि सवै मिलेर काम गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा इण्टरनेश्नल कमिसन अफ जुरिष्टका करुणा पराजुलीले अपाङ्गता भएका महिलाले सहयोगीसहितको निर्णय पद्धती लागि सहयोगीसहितको निर्णय प्रक्रिया  अनिवार्य हुनुपर्ने बताउनुभयो ।  महिला अधिकारकर्मी श्याम साहले भन्नुभयो “विकासमा अपाङ्गता भएका व्यक्तिलाई कसरी जोड्ने ताकि हरेक विकासका संरचना पहुँचयुक्त हुन्”।

यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी लक्ष्मी घलानले सवै मुद्दाहरुलाई साझा मुद्दा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्तरपुस्ता महिलावादी सञ्जालकी इन्दु पन्त घिमिरेले यो निकै जटिल विषय भएकाले अन्तरसम्वद्धतामा धेरै काम गर्नुपर्ने बताउनुभयो । सीवीएम ग्लोवलका कार्यक्रम अधिकृत विमल पौडेलले लैङ्गिक हिंसामा धेरै कामहरु प्रतिक्रयात्मक भएकाले अव परिवर्तनकारी कामका लागि प्रणालीगत अवरोधमा काम गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल अपाङ्ग महिला संघका महासचिव देव कुमारी पराजुलीले अपाङ्गता समावेशीमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष मीना पौडेलले नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिला र वालिकाको न्यायमा पहुँचका बारेमा गरेको अध्ययन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण अध्यक्ष टीका दाहालले गर्नुभएको थियो ।

अर्को विश्व सम्भव छ भन्ने नारासहित २० वर्षपछि  दक्षिण एशियामा विश्व सामाजिक मञ्चको आयोजना गरिएको हो । यसअघि सन् २००४ मा भारतको मुम्बइमा आयोजना भएको थियो ।