अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण

 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ कार्यान्वयनमा महासंघ गम्भीर रहेको बताउनुभएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति र महिलाको सहभागिता अपाङ्गतामैत्री निर्वाचन प्रक्रिया पहुँचयुक्त मतदान केन्द्र बनाउनका लागि संचारमाध्यमको भूमिकाका विषयमा ध्यानाकर्षण गराउन गएका नेपाल अपाङ्ग महिला संघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई प्रशिक्षण गर्ने क्रममा समेत यो निर्देशिकाका बारेमा जानकारी दिने गरेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्ति र  महिलाका मुद्दालाई सामाजिकीकरण गरेर संवेदनशील बनाउन संचार माध्यमको महत्वपूर्ण भुमिका हुने भएकाले यसमा महास‌ंघले सर्कुलर गर्ने पनि बताउनुभयो । निर्वाचनका बेला आउने गलत सूचना र घृणायुक्त भनाइ नियन्त्रणका लागि नेपाल प्रेस काउन्सिल र निर्वाचन आयोगले निर्वाचनका बेला गर्ने  अनुगमनमा समेट्न ध्यानाकर्षण गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । अपाङ्गतामैत्री सूचना र निर्देशिका कार्यान्वयनका लागि आफू पूर्ण प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । उहाँले नेपाल प्रेस काउन्सिलको वेवसाइटलाई पहुँचयुक्त बनाएको पनि जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल अपाङ्ग महिला स‌ंघका अध्यक्ष टीका दाहालले  अपाङ्गतामैत्री स‌ंचार निर्देशिका कार्यान्वयनमा जोड दिनुभयो । निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको सहभागिता अपाङ्गतामैत्री व्यवहार र मतदान केन्द्रहरु कनाउने कुरामा संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सीआइएल काठमाडौंका कृष्ण दाहालले अपाङ्गता भएका व्यक्तिप्रति समाजको अवधारणागत अवरोध सवैभन्दा खतरनाक रहेको अौंल्याउनुभयो ।

नेपाल अपाङ्ग महिला संघका सदस्य रश्मी अमात्यले बहिरा व्यक्तिहरु हरेक सूचनाबाट वञ्चित हुनुपरिरहेकाले अपाङ्गतामैत्री सूचना र सञ्चार माध्यमहरले दोभाषेहरको व्यवस्था गर्नुपर्ने बताउनुभयो । संघका महासचिव मीना पौडेलले सञ्चार माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुको नक्कल गरेर मनोरञ्नात्मक कार्यक्रमहर प्रसारण गर्दा समाजमा पनि उनिहरलाई हेयको दृष्टिले हेर्ने गरेकाले यस्तो प्रबृत्ति अन्त्य हुनुपर्ने बनाउनुभयो ।