नेपाल अपाङ्ग महिला संघले सेवा प्रदायकहरुका लागि ललितपुरमा एकदिने अभिमुखीकरणको आयोजना गर्यो । नेपाल प्रहरीको महिला सेल र पालिकास्थित न्यायिक समितिका सदस्यहरुका लागि अपाङ्गता भएका महिला र वालिकाप्रति हुने हिंसा सम्बन्धी संवेदनशील बनाउन यो अभिमुखीकरणको आयोजना गरिएको हो ।
अभिमुखीकरणमा सहभागीहरुले अपाङ्गता भएकाहरुको वडास्तरबाट तथ्याङ्क संकलन गरी उनीहरुको स्थिति अनुसार आय आर्जन सम्बन्धी सीप तथा तालिमको व्यवस्था गर्ने बताए । उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न चाहँदा चाहँदै पनि भौतिक असुविधाका कारणले सहयोग गर्न नसकेको बताए ।
अभिमुखीकरणमा ललितपुरका गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका न्यायिक समितिका सदस्य र महिला सेलमा कार्यरत प्रहरी कर्मचारी गरी १७ जना सहभागी थिए ।