नेपाल अपाङ्ग महिला संघले गरायो प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण

नेपाल अपाङ्ग महिला स‌ंघको प्रतिनिधिमण्डलले बागमती प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री र सांसदहरुसँग भेटेर आफ्ना सवालहरुका बारेमा छलफल गरेको छ । संघको प्रतिनिधिमण्डलले बागमती प्रदेश  सभाका सभामुख भुवन पाठक र प्रदेश सभाका सांसदसँग छलफल गर्‍यो । स‌ंघले प्रदेश सभामा सांसदहरुले उठाउनुपर्ने सरकारका योजना कार्यक्रम र बजेटका सवाल समेटेर ध्यानाकर्षणपत्र पनि बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेश सभामा एकजना  अपाङ्गता भएका सांसद आउनेवित्तिकै प्रदेश सभाका केही भौतिक संरचना अपाङ्गतामैत्री बनाइएको र अव बन्ने संरचना पनि अपाङ्गतामैत्री हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले संसदको रोष्ट्रममा पुग्न स्वचालित लिफ्ट बन्ने जानकारी पनि  दिनुभयो । उहाँले प्रदेश सरकारले बनाउँदै गरेको अपाङ्गता एेन केही समयपछि बन्ने बिषयगत समितिमा छलफल गरी कानुनी रुपमा ल्याउन प्रयास गर्ने बताउनुभयो । साथै सम्बन्धीत मन्त्रीसँग छलफल गर्ने बताउनुभयो । यसैक्रममा सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवाल संसदमा उठाउने प्रतिवद्धता जनाएका थिए ।

यसैगरी प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी  मोक्तानसँग पनि नेपाल अपाङ्ग महिला संघको प्रतिनिधिमण्डलले छलफल गर्‍यो । यसक्रममा मन्त्री मोक्तानले नीति नै बनाएर अपाङ्गता भएका व्यक्तिका लागि बजेटको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।  उहाँले नीतिगत व्यवस्था गरेर नै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी भत्ताको व्यवस्था गरेको जानकारी दिनुभयो ।

विद्यालयको बजेट कटौती गरेरै भएपनि हिंसा पीडित महिलाका लागि सुरक्षित आवास बनाउने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले गृहिणी कार्यक्रम राखेको र यसमा अपाङ्गता भएका व्यक्तिहरका लागि विउपुँजीकव व्यवस्था गर्ने बताउनुभयो ।