नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो ।
कार्यशालामा सहभागीहरुले अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका बिभिन्न पाँचवटा धारामा समूहकार्य गरेका थिए ।
सहभागीहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका धारा ६ अपाङ्गता भएका महिला, धारा १२ समान कानुनी मान्यताको अधिकार, धारा १३ न्यायमा पहुँचको अधिकार, धारा १६ शोषण, हिंसा र दूर्व्यवहारबाट स्वतन्त्रता र धारा १७ व्यक्तिको अखण्डताको संरक्षणमा समूह विभाजन गरी कार्य गरेका थिए ।
यी सवै समूहबाट यूनसीआरपीडीक अन्तर्गतका उक्त धाराले व्यवस्था गरे अनुसारका सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले उपभोग गर्न नपाएको सवाल उठेको छ । सहभागीहरुले अपाङ्गता भएका महिलाका लागि सेवाहरु पहुँचयुक्त र अपाङ्गतामैत्री नभएको, न्यायमा पहुँच अत्यन्तै जटिल रहेको, अपाङ्गता भएका महिलालाई केन्द्रित गरेर हिंसा, शोषण र दूर्व्यवहार हुने गरेको तर यस्ता कार्यविरुद्ध सम्बोधन गर्ने सहयोगी संरचना नभएको, अपाङ्गता भित्रको विविधता र यसको संवेदनशीलतालाई नेपालको नागरिक आन्दोलन, राज्य र सेवा प्रदायक निकाय सचेत नभएको र यस अनुसारका सेवाको व्यवस्था नगरेकोलगायतका विषय उठाइएको छ ।