अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति र अवरोध बारेमा छलफल

meena paudel VC of NDWA fasilitating the program

 

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था र अवरोधको विश्लेषण विषयमा गरेको अध्ययनको  प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । विमेन काइण्ड यू केको सहयोगमा गरिएको यस अध्ययनले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था अत्यन्तै कठीन र जटिल रहेको देखाएको छ । अपाङ्गता भएका महिलाका लागि  न्याय पाउने वातावरण नभएका कारण उनीहरू न्यायिक प्रक्रियामा जान इच्छुक नभएको र सेवा प्रदायक निकायले दिने सेवा प्रभावकारी नभएको निष्कर्ष अध्ययनको छ ।

महिलाहरु आफूमाथि भएको हिंसाका बारेमा वोलेमा इज्जत जाने वा महिलाले सहनुपर्छ भन्ने स्थापित भाष्यले अपाङ्गता भएका महिलामा पनि प्रभाव पारेकाले उनीहरू आफुमाथिको हिंसा सहेर बस्ने गरेका उक्त अध्ययनको निष्कर्ष छ ।

अध्ययनका अनुसार अपाङ्गता भएका महिलाहरु धेरैजसो आफ्ना परिवारमा आश्रित हुनुपरेका कारण न्याय पाउने वातावरण छैन, तर परिवार र समुदायबाट सहयोग र समर्थन पाउने अपाङ्गता भएका महिला भने न्यायको खोजीमा लाग्ने गरेका छन् । न्याय दिने निकायहरु र  प्रहरीले अपाङ्गता भएका  हिंसा प्रभावित महिलाका पक्षमा प्रमाण जुटाउन गाह्रो हुने गरेको बताएको कुरा अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाहरुले सेवा प्रदायकले सेवा दिएको दावी गर्ने तर सेवाग्राहीले न्याय पाएको अनुभूति नगर्ने देखिएकाले यी दुवैबीच ठुलो खाडल रहेको आैंल्याएका थिए ।  कार्यक्रममा विमेन काइण्डका निर्देशक सियरा  स्राफले नेपाल अपाङ्ग महिला स‌ंघसँग आगामी दिनमा हुने सहकार्यका लागि छलफल गर्ने बताउनुभयो ।

संघका महासचिव देव कुमारी पराजुलीले यो अध्ययनले आगामी दिनमा प्रमाणमा आधारित पैरवीका लागि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष मीना पौडेलले गर्नुभएको थियो ।  कार्यक्रममा बिभिन्न पालिका एकदद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ३५ जनाको सहभागिता थियो ।