अपाङ्गता भएका महिलाका लागि नेतृत्व विकास तालिम

 

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाका लागि वकालत नेतृत्व विकास र कानुनी अधिकार सम्बन्धी  काठमाडौंमा तीन दिने तालिमको आयोजना गर्‍यो । तालिममा अपाङ्गता भएका महिलाले आफ्ना सवालमा कसरी पैरवी गर्ने, पैरवीका सवालहरुलाई कुन कुन माध्यममा कसरी तयार गर्ने र कसरी यी सवाललाई सरोकारवाला समक्ष प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै आफ्ना सवालहरुलाई सरोकारवाल समक्ष पुर्‍याउन नेतृत्व विकासको आवश्यकता, नेतृत्वमा हुनुपर्ने गुण, सवालका लागि कानुनी ज्ञानको आवश्यकताका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

 

तालिमको सहजीकरण नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मीना पौडेल, महासचिव देव कुमारी पराजुली र सचिव सुनिता थापाले गर्नुभएको थियो । तालिमका क्रममा अभियन्ता नीर श्रेष्ठले युवा नेतृत्वलाई अन्तर्पुस्ता संवादको महत्वका बारेमा जानकारी गराउनुभयो ।

तालिममा सिराह, महोत्तरी, कञ्चनपुर, गोरखा, धादिङ, काभ्रे, काठमाडौं, ललितपुरका गरी ३२ जना विभिन्न अपाङ्गता भएका महिलाको सहभागिता थियो । तालिम सीबिएम ग्लोवलको सहकार्यमा आयोजना गरिएको हो ।