अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

Tika Dahal, chairperson of NDWA welcoming the participants

 

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका कानुन कार्यान्वयन गर्न सचेतना आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल अपाङ्ग महिला संघले  साउन १५ गते ललितपुरमा आयोजना गरेको अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख शाक्यले अपाङ्गता भएका महिला तथा बालिकामाथि हुने हिंसा न्युनीकरणका लागि उनीहरुलाई मानसिक रुपमा बलियो र सवल बनाइ   स्वरोजगार बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो  ।  समुदायमा बाहिर  नआएका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर ल्याइ यस्ता सचेतना कार्यक्रममा सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो ।

Vice chairperson Meena paudel sharing the presentation

उपप्रमुख शाक्यले ललितपुर महानगरपालिकाले आफ्नो महानगरलाई अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउन प्रयास गरिरहेको बताउनुभयो । महानगरको भवनमा पहुँचयुक्त भएको भन्दै महानगरभित्र बन्दै गरेका बाटाघाटामा ट्याक्टाइल हालेको र नहालेको ठाउँमा भत्काएर समेत राख्न लागिरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर ललितपुरस्थित महिला बालबालिका र जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख मीना राईले अपाङ्गता भएका महिला र बालिकामाथि हुने लैङ्गिक हिंसा न्युनीकारणका लागि साझेदारी आवश्यक रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिका महिला विकास शाखाका प्रमुख शोभा खरेलले महानगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि दिइरहेको सेवाका बारेमा जानकारी दिनुभयो ।

नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले अपाङ्गता भएका महिला र बालिकाकाको न्यायमा पहुँच अत्यन्तै नाजुक रहेकाले सरोकारवालाहरुसँगको साझेदारी अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई लिएर व्यापक अभियान चलाउनुपर्ने र यसमा नागरिक समाजलगायत सवैको सहकार्य जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष मीना पौडेलले अपाङ्गता भएका महिला र वालिकाको न्यायमा पहुँचको अवस्था यसका लागि विद्यमान कानुनी व्यवस्थाका बारेमा र  महासचिव देव कुमारी पराजुलीले  अपाङ्गताका प्रकारका बारेमा जानकारी दिनुभएको थियो ।

स‌ंघले अपाङ्गता भएका महिला र बालिकामाथि हुने लैङ्गिक हिंसाका बारेमा ललितपुर जिल्लामा कार्यरत नेपाल प्रहरी, नेपाल प्रहरी अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक  सेवा केन्द्रका कर्मचारी ललितपुर महानगरपालिका अन्तर्गत महिला विकास शाखाका कर्मचारीका लागि यो अभिमुखीकरणको आयोजना गरेको हो । अभिमुखीकरणमा ३३ जनाको सहभागिता थियो ।