अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)ले कोषबाट वित्तिय स‌ंस्थामार्फत प्रवाह हुने ऋण स्वीकृतिका लागि सम्झौता गर्दा हरेक वित्तय स‌ंस्थाले एकजना अपाङ्गता भएका व्यक्तिलाई ऋण प्रवाह गर्ने गरी सम्झौता गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

नेपाल अपाङ्ग महिला संघको अगुवाइमा  अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेका स‌ंघसंस्थाका प्रतिनिधिहरुसहित कोषका पदाधिकारीसँग भएको भेटका क्रममा कार्यकारी उपाध्यक्ष रोकाले स्वरोजगारका लागि  ऋण प्राप्त गर्न अपाङ्गता भएका व्यक्तिद्वारा संचालित सहकारीले अन्य व्यक्तिद्वारा संचालित सहकारीले जस्तो मापदण्डहरु पुरा गर्न नपर्ने व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा स्वरोजगार कार्यक्रमसँग सम्झौता गरी बेरोजगार युवाहरुलाइ ऋण उपलब्ध गराउने सहकारीमा कम्तीमा २ सय शेयर सदस्य हुनुपर्ने र सहकारी दर्ता भएको २ वर्ष हुनुपर्ने व्यवस्था छ । छलफलका क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिद्वारा स्थापित सहकारीमा २५ जना शेरय सदस्य भइ ३ महिना पुरा भएमात्रै पनि  ऋण प्रवाह गर्न योग्य हुने र कोषले उनीहरुसँग काम गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति र महिलाहरुलाई स्वरोजगार बनाउन आफुले सक्दो सहयोग गर्ने र यसका लागि यहाँहरुका माग अनुसार सकारात्मक विभेदमार्फत स्वरोजगारमा उनीहरुलाई सहभागी गराउने बताउनुभयो ।

छलफलका क्रममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यका निकायले कम आँकेको भन्दै उनीहरुले राज्यलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याइरहे पनि उनीहरुलाई लगानी गर्न र उदयमशीलतामार्फत स्वरोजगार बनाउन राज्य तयार नभएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु हरेक क्षेत्रमा दक्ष भएकाले उनीहरुलाई रोजगारी, उद्यमशीलतासँग आफुहरुले जोड्न चाहेको र यदि राज्यलाई आवश्यक परे अपाङ्गता भएका दक्ष जनशक्ति उपलब्ध गराउने उहाँको भनाइ थियो । छलफलमा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुले सहकारी स्थापना गर्न चाहेमा कोषले यसका प्रक्रिया सहज बनाउन सघाउनुपर्ने, ग्रामीण भेगका अपाङ्गता भएका व्यक्तिहरुलाई सोचेर कोषले त्यही अनुसार आफ्ना नीति बनाउनुपर्ने, आफ्नै पहल र मेहनतबाट स्वरोजगार भइरहेका अपाङ्गता भएका व्यक्तिहरुसँग कोषले सहकार्य गर्नुपर्नेलगायतका सवाल उठाएका थिए ।

भेटका क्रममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष  टिका दाहालले १८ बुँदे मागपत्र कोषका उपाध्यक्ष देवराज रोका (कल्याण) लाई हस्तान्तर गर्नुभएको थियो ।