अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन 

 

नेपाल अपाङ्ग महिला संघले  विभिन्न विकाशका साझेदार स‌ंस्थाहरुको सहकार्यमा अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि साझेदारी, न्यायमा पहुँचका लागि खबरदारी” भन्ने नाराका साथ अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो । सम्मेलनको उद्घघाटन राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले गर्नुभयो ।  उद्घघाटन  मन्तव्य दिंदै अध्यक्ष पराजुलीले शहरीया हुन वा सिमान्तकृत महिला, पढेलेखेका हुन वा निरक्षर सवै वर्ग समुदायका महिला कुनै न कुनै तरिकाले विभेद  र हिंसा भोग्न बाध्य भइरहेको भन्दै झन अपाङ्गता भएका महिलामाथि अपाङ्गता भएका पुरुषले भन्दा दोहोरो तेहोरो विभेद र हिंसा सहन परिहेको बताउनुभयो । उहाँले एउटै प्रकारको अपाङ्गता भएपनि पुरुषले भन्दा महिलाले धेरै बाधा अवरोध र कष्ट प्रताडना झेल्न परिरहेको तथ्य  औंल्याउनुभयो ।

कार्यक्रममा समावेशी आयोगका सदस्य विष्णु ओझाले पहुँचमा नपुगेकालाई पहुँचमा पुर्‍याउन समावेशीको सिद्धान्त अनुसार समावेशी परिकल्पना आएपनि यसको मान्यता अनुसार काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन मन्तव्य दिंदै नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाले  आफ्नो आभियानलाई शसक्त बनाउँदै राज्यका हरेक तहमा आफ्नो हिस्सा खोज्न सक्षम भएको बताउनुभयो । उहाँले अव  महिला आन्दोलन भित्रको विविधताको सम्बोधन हुनपर्ने र यसका लागि समग्र महिला आन्दोलन र सवै सामाजिक आन्दोलनले अपाङ्गता भएका महिलाको सवालमा चासो दिनपर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले अहिलेको समयमा समेत महिलाले म महिला अधिकारकर्मी हुँ भन्न सकिने  अवस्था नरहेको भन्दै अपाङ्गता भएका महिलामाथि हुने यौन हिंसा घरेलु हिंसाविरुद्ध बोल्दा ती महिला अधिकारकर्मीहरु आफ्नै समुदायबाट बहिस्कारमा पर्ने, एक्ल्याइने जोखिम रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महासंघका उपाध्यक्ष रमा ढकाल, ओपन सोसाइटी फाउण्डेसनका कार्यक्रम अधिकृत नीतु पोख्रेल, नेपाल मानव अधिकार आयोगका सहसिचव सम्झना शर्मालगायतले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव मीना पौडेलले दिनुभएको थियो । सम्मेलनमा अपाङ्गता भएका महिलाको कथा समेटेर तयार पारिएको पुस्तक आवाज मौनताको र भिडियो विमोचन गरिएको थियो ।

सम्मेलनको उद्घाटन सत्रपछि न्यायमा पहुँचका बिषयमा छुट्टाछुट्टै ६ वटा सवालमा समानान्तर सेसनहरु भएका थिए । यी सेसनहरुमा विभिन्न विषयगत विज्ञहरुले प्रस्तुती दिएका थिए भने सेसनहरुमा यी विषयमा व्यापक छलफल भएको थियो । छ वटा सेसनपछि अन्त्यमा प्लेनरीको आयोजना गरियो । प्लेनरीमा सीबीएम ग्लोवलका कण्ट्री डाइरेक्टर सुरज सिग्देलले Power Shifting and Role of International Partner Agencies, Engagement of OPDs विषयमा आफ्नो धारणा राख्नुभएको थियो । अन्त्यमा १२ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय सम्मेलन सकिएको थियो ।